आईतवार, १० कार्तिक, २०८२

सिद्धबाबा सुरूङ् मार्गका तीन वटै बाइपास सुरुङको ब्रेक थ्रू

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० पुष, २०८१

सिद्धबाबा सुरूङ् मार्गका तीन वटै बाइपास सुरुङको ब्रेक थ्रू

१० पुष, पाल्पा । सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक अन्तरगत निर्माणाधीन सुरुङमार्गको १५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास गएको असोज ४ गते छिचोलिएको थियो । त्यस्तै, १३० मिटरको तेस्रो बाइपास गएको असोज २६ गते ब्रेक थ्रू भएको थियो भने १६१ मिटरको दोस्रो बाइपास आइतबार छिचोलिएको सिद्धबाबा सुरूङमार्ग योजनाले जनाएको छ ।

मूल टनेल पनि अब छिट्टै ब्रेक थ्रू गर्ने आयोजनाले जानकारी दिएको छ । १ हजार १२६ मिटर लामो सुरुङमार्गको ब्रेक थ्रू गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्षअघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

२०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले पाल्पाको दोभान खण्डसहित देशका विभिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । विष्णु पौडेल अर्थमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले २०७७ मंसिरमा १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको थियो ।

हाल बुटवल-पाल्पा खण्डको तिनाउ गाउँपालिका-२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर दूरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युतको ड्याम माथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्ट लगायतका पूर्वतयारीका कामहरू फागुन दोस्रो हप्तादेखि सुरु भएको हो ।

advertisement_1676553908.gif