राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३ भाद्र, २०८२
२०८२ भदौ ०३, पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य तिव्रकाम अघि बढिरहेको छ । हाल सुरुङमार्गमा टनेल लाइनिङ अर्थात् भुइँ र भित्ताको ढलानको काम तीव्र गतिमा भइरहेको छ भने अन्य कामहरू पनि सँगसँगै चलिरहेको आयोजनाले जनाएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको यो सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएपछि कामले थप गति लिएको हो । हालसम्म आयोजनाको भौतिक प्रगति ५९ दशमलव ७३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५१ दशमलव १ प्रतिशत भएको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।
आयोजना प्रमुख अधिकारीका अनुसार हाल मुख्य टनेलको भूइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) सकिएको छ भने दायाँबायाँ नौ सय ९४ मिटर लेपन (लाइनिङ)को काम सकिएको छ । हाल सुरुङमार्गभित्र दुई सय ९२ मिटरमा लाइनिङको काम भइरहेको छ ।
सुरुङमार्गमा तीन वटा बाइपास बनाइएका छन्, जसअन्तर्गत पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङ सकिएको छ। दोस्रो बाइपासमा १५७ दशमलव ८ मिटर इन्भर्ट र ८ दशमलव ३ मिटर लाइनिङ भएको छ भने तेस्रो बाइपासमा १२५ मिटर इन्भर्ट र १०४ दशमलव २ मिटर लाइनिङ सम्पन्न भएको छ ।
दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको आयोजना प्रमुख अधिकारीले बताए ।
यहाँ २०७९ सालदेखि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा काम गरिरहेको छ । यहाँ २०८३ सालमा सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ ।