आईतवार, १० कार्तिक, २०८२

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ११ माघ, २०८१

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

११ माघ, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक थ्रु’) भएको छ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो। प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको भर्चुअल प्रविधिबाट ब्रेक थ्रु गरेका हुन्।

सो अवसरमा बोल्दै प्रधानमन्त्रीले अब नेपाल दुर्गमबाट सुगम देशको रुपमा जाँदै गरेको बताए । ‘यो खुसी तपाईं हामी सबैको खुसी हो । रुपन्देही र पाल्पाका जनताका लागि थप ठूलो खुसीको कुरा हो । यो हामी सबैको सफलता हो, यस्तै सफलताहरु जोडेर देशलाई सफल बनाउन सकिन्छ । यो सरकार स्थायित्व र बिकासका लागि बनेको छ ।’ प्रधानमन्त्री ओलीले भने ।सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी  सुरुङमार्ग निर्माण ठेक्का लगाएको थियो । 

सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर,  दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ ।

पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो । आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन् ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

advertisement_1680627706.gif