शुक्रबार, १० माघ, २०८२

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध, यात्रुहरू सास्तीमा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १६ पुष, २०८२

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध, यात्रुहरू सास्तीमा

२०८२ पुष १६, पश्चिम नवलपरासी । शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ ।

शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने–खुर्सानी खोला क्षेत्रमा सडक चिप्लो हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गमा केही दिनदेखि सवारी साधनहरूको लामो जाम लाग्दै आएको छ ।

शीतलहरका कारण सडक अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती पाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार सवारी साधनको जाम बिस्तारै कटाइए पनि बाक्लो हुस्सुसहितको शीतलहरका कारण सवारी सञ्चालनमा निकै कठिनाइ भइरहेको छ ।

नारायणगढ–बुटवल सडकखण्डको पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जङ्गलसम्म करिब १ हजार ५ सय सवारी साधन जाममा फसेको सूचना अधिकारी जोशीले जानकारी दिए । उनका अनुसार दाउन्नेदेखि दुम्कीबास जंगल क्षेत्रसम्म करिब १५ सय सवारीसाधन जाममा फसेका छन् ।

आयोजनाले एक सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनहरू नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । त्यस्तै, कालीगण्डकी चोक ९गैँडाकोट०–रामपुर–पिपलडाँडा मार्गसमेत वैकल्पिक रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।
काठमाडौंबाट बर्दघाटतर्फ जाने तथा बुटवलबाट काठमाडौंतर्फ आउने सवारीसाधनलाई काठमाडौं–मुग्लिङ–पोखरा मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।

दाउन्ने खण्डमा निर्माण तथा मर्मत कार्य जारी रहेकाले शीतलहरका कारण थप जोखिम बढेको भन्दै आयोजनाले अत्यावश्यक बाहेकका सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

 

advertisement_1676551694.gif