राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२
२०८२ चैैैत्र १४, नवलपरासी । नवलपरासीको दाउन्ने क्षेत्रमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार बिहान करिब १ बजे बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ (बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक, सोही दिशाबाट जाँदै गरेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअप गाडी एकआपसमा ठोक्किएका थिए । ट्रक र बसले पिकअपलाई ठक्कर दिएपछि बस र ट्रक करिब २ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रोल्पा बागमाराका २५ वर्षीय गोबिन बुढा र पहिचान नखुलेका करिब २५/२६ वर्षका दुई पुरुषको मृत्यु भएको छ । उनीहरूको शव पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।
घाइतेमध्ये बस चालक रोल्पा माडीका २४ वर्षीय हिमाल घर्ती, १९ वर्षीय किरण पुन, मरिचमान घर्ती, ४८ वर्षीया सुशिला नेपाली, ५८ वर्षीय मोतिलाल डाँगी, ६२ वर्षीय झुपबहादुर घर्ती र ६२ वर्षीय तीर्थबहादुर पुन रहेका छन् ।
त्यस्तै ट्रक चालक बर्दियाका २४ वर्षीय सागर चौधरी, १९ वर्षीय जीवन चौधरी, कञ्चनपुरका २८ वर्षीय लोकराज ओझा, काठमाडौँका २८ वर्षीय लक्ष्मी खत्री, दाङका ४९ वर्षीय खिमबहादुर नेपाली र एक अन्दाजी २५ वर्षीया महिला पनि घाइते भएका छन् ।
यस्तै चितवनका ३१ वर्षीय विशाल चेपाङ र पिकअप चालक २९ वर्षीय आशिष गुरुङ पनि घाइते भएका छन् । उनीहरूको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।