राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ असार, २०८२
२९ असार २०८२, दमक । झापाको दमकमा आइतबार दिउँसो सवारी दुर्घटनामा परेर एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन् । दमक नगरपालिका–३ स्थित संगम चोकमा भएको दुर्घटनामा स्कुटरमा सवार दुई महिला जेठानी–देउरानीमध्ये ५६ वर्षीया लक्ष्मी गौतमको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको ‘मे १ ख २८८४’ नम्बरको टिपरले विपरीत दिशाबाट गइरहेको ‘मे ११ प ५४४३’ नम्बरको स्कुटरलाई अपरान्ह १२ बजेतिर ठक्कर दिएको थियो ।स्कुटरको पछाडिपट्टि बसेकी लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ ।
घटनामा स्कुटर चलाइरहेकी ४४ वर्षीया टीका गौतम घाइते भएकी छन्। टीकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकी लक्ष्मी र टीका जेठानी–देउरानी रहेको खुलेको छ।दुर्घटनापछि टिपर चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४६ वर्षीय तोयानाथ विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।