राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ४ पुष, २०८०
नेपालगन्ज । त्यो सेमिनार जहाँ नरुने र भावुक नहुने कोही थिएनन् । सबैलाई भावुक बनायो, शायदै कसैको आँखा ओभानो रह्यो होला ! सबैलाई भाव विव्हल बनायो । वास्तवमा यो संसारमा श्रृष्टिकर्ता आमा, बुवा अनि मातृभूमि भन्दा ठुलो र महान कोही छैन भन्ने विभिन्न उदाहरण र वृत्तचित्र सहितको उत्कृष्ट एवम् अत्यन्तै प्रभावकारी प्रस्तुतीका लागि मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको जतिसुकै प्रशंसा गरेपनि कम हुन्छ ।
मानव सेवा आश्रम बाँके जिल्ला शाखाले आयोजना गरेको सो सेमिनारमा आँसुलाई माध्यम बनाउँदै मनको भावनाहरु पोखिरहेका थिए– उपस्थित सबै सहभागीहरुले । साढे ३ घण्टा लामो समयसम्म सञ्चालित उक्त कार्यक्रम स्थलबाट कोही पनि वीचमा बाहिरिएको देखिएनन् ।
कतिको आँखाबाट बगिरहेको थियो, कतिका आत्मग्लानिको आँसु, कोहीको आखाँमा सम्मान र ममता भरिएको आँसु, त कसैको आखाँमा थिए– मातापितासँगको विछोडका आँसु । सबैको आखाँबाट बगेका आँसु एउटै भएपनि आँसुका भावहरु भने फरक–फरक थिए ।
सेमिनारमा प्रस्तुत भएका आमाको माया, ममता, त्याग र पिडा सम्बन्धी प्रस्तुतीले कतिपयले आफुले जानेर वा अन्जानमा आमाप्रति गरेको व्यवहारलाई सम्झिएर आत्मग्लानिको आँसु पनि बगाइरहेका थिए भने कतिले मातापितासँगको विछोड सम्झेर । कतिपय भने मातापिताको त्याग र समर्पण सम्झेर सम्मानले शिर झुकाएर रोइरहेका थिए । कतिजना एक अर्कोलाई अङ्कमाल गर्दै रोइरहेका पनि देखिन्थ्यो ।
आफ्नो मातृत्व र मातृभूमिप्रति सद्भाव र सम्मानले भरिएको थियो– उपस्थित सबै सहभागीहरुको आँखा र मन ।
मानवसेवा आश्रमले नेपालगन्जको बागेश्वरी सिनेमा हलमा बुधवार भव्यताका साथ सम्पन्न गरेको आमा सेमिनारमा नेपालगन्जका स्थानीयको बाक्लो उपस्थिति थियो । कुनै पनि भड्किलो प्रचार प्रसार बिना पनि बागेश्वरी सिनेमा हल पूरै भरिएको थियो । शान्त र व्यवस्थित वातावरणमा सम्पन्न भएको उक्त फरक कार्यक्रम, जहाँ मानवीय संवेदनाले भरिएका र सामाजिक रुपान्तरणको अभ्यासमा लागेका मनहरुको उल्लेखनीय जमघट भएको देखिन्थ्योे ।
विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सन्देशमूलक र उत्प्रेरणात्मक कार्यक्रमहरुमा प्रस्तुती तथा सहजीकरण गरिरहनुभएका मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रिय अध्यक्ष रामजी अधिकारीको आमा सेमिनारमा गर्नु भएको अत्यन्तै उत्कृष्ठ र प्रभावकारी प्रस्तुतीले सबै सर्वसाधारण नागरिकदेखि प्रदेश मन्त्री र साँसद् समेतलाई बिना हलचल सेमिनारको महत्वपूर्ण विषयवस्तुमा केन्द्रीत तथा सहभागी हुन उत्प्रेरित गर्नुभएको थियो । सेमिनारमा आमाको महिमा, पिडा र त्याग बारे विभिन्न रोचक उदाहरण सहित गर्नु भएको उहाँको प्रस्तुतीले उपस्थित सबैको आँखा रसाएका थिए ।
सेमिनारमा प्रमुख वक्ता आश्रमका परिकल्पनाकार तथा केन्द्रीय अध्यक्ष अधिकारीले मनोरञ्जनका लागि चलचित्र प्रदर्शन गर्ने यो सिनेमा हलमा आज मन मञ्जन गर्नका लागि यो सेमिनार आयोजना गरिएको बताउनु हुँदै आज मनोरञ्जनले धेरै युवाहरुको जीवन बर्वाद गरेकोछ, कुसंस्कारको शिकार बन्दै गएको छ । त्यसैले त्यस्ता नकारात्मक संस्कारबाट मानव जीवन र विशेषगरेर आजका युवा पुस्तालाई मुक्त गर्नका लागि युवाहरुको मनलाई नै सफा गर्ने मन मञ्जन गर्ने खालको “आमा सेमिनार” आयोजना देशव्यापी रुपमा आयोजना गर्दै आएको उहाँले बताउनु भयो ।
मनोरञ्जन धेरै भयो, अब मन मञ्जन गर्न जरुरी छ भन्ने अधिकारीको भनाईमा धेरै सत्यता छ । मनोरञ्जन गर्ने क्रममा अलि अलि गर्दै युवा वर्ग कुलतमा फसेको पत्तै नपाउने वातावरण भएको छ देशमा । त्यसैले यस्ता भावनात्मक र चेतनामूलक कार्यक्रम गर्न जरुरी छ ।
परिवारबाट अपहेलित हुनुपर्दा अहिले कतिपय बुवाआमा सडक पेटीमा पुग्नुपरेको, घरभित्रै खुम्चिएर बस्नु परेको र कतिपयले आत्महत्याको प्रयास समेत गरेको सत्य घटनाहरु अधिकारीले आफ्नो प्रस्तुतीको क्रममा सुनाउनु हुँदै आमा बुवा प्रतिको स्नेह र सम्मानको महत्व दर्शाउनका लागि आमा सेमिनार आयोजना गरिएको पनि बताउनु भयो ।
मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन–मनमा पु¥याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आश्रमले जनाएको छ । देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले उक्त सेमिनार बाँके जिल्लालाई केन्द्र बनाई जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला, नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, लगायतलाई लक्षित गर्दै आयोजना गरिएको थियो ।
मानवता प्रवद्र्धन कार्यक्रम अन्तरगत सम्पन्न सेमिनारको सहजीकरण आश्रमका केन्द्रीय महासचिव सुशीला केसी ‘रुपा’ ले गर्नु भएको थियो ।
चार सय बढीको सहभागिता रहेको मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा सम्पन्न उक्त आमा सेमिनार निःशुल्क प्रवेशको व्यवस्था गरिएको र नेपालगन्जको कार्यक्रम उत्साहजनक भएको आश्रमकी केन्द्रीय महासचिव ‘रुपा’ ले बताउनु भयो ।
महासचिव ‘रुपा’ का अनुसार आश्रमको केन्द्रीय कार्यक्रम अन्तरगत यसवर्ष ४५ स्थानमा आमा सेमिनार गर्ने योजना अनुरुप यसअघि पर्सा, लमजुङ, हेटौंडा, दाङ लगायतका स्थानमा कार्यक्रम गरिसकेको छ । आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । आश्रमको आफ्नै भवन निर्माण गर्नका लागि नेपालगन्जका समाजसेवी एवम् दानवीर जयकेश सिंहले नेपालगन्जको सिमानासंग जोडिएको डुडुवा गाउँपालिकामा १० कठ्ठा जमिन आश्रमलाई दान गर्नु भएको छ ।
पूरै अवधिभर सहभागी हुनु भएका सो कार्यक्रमको प्रारम्भमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भण्डारी लाल यादवले भ्रष्टाचारले देशलाई बर्वाद् गरेका उदाहरण प्रस्तुत गर्दै देशको दुस्मन भ्रष्टाचारीहरुलाई फाँसीको सजायँ दिनु पर्छ भन्दै युवा पुस्तालाई असल संस्कारयुक्त शिक्षा दिनु पर्ने बताउनु भयो ।
सेमिनारमा प्रदेश सभासद् मीना श्रेष्ठ, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु, सरकारी कार्यालयका अधिकृतहरु, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
यस किसिमका मानव मात्रमा असल चरित्र र असल संस्कार निर्माणका लागि ‘आमा सेमिनार’ जस्ता सन्देशमूलक र
उत्प्रेरणात्मक मानवता प्रवद्र्धन कार्यक्रमहरु बेला बेलामा गर्नका लागि नेपालगन्जबासी स्वयम् जाग्नु पर्छ, अनि यस्तो महान अभियानमा जुटेको मानव सेवा आश्रमलाई साथ सहयोग गर्नु आवश्यक छ ।
आमा सेमिनार किन ?
पछिल्लो समय मानिसको आधुनिक जीवन शैलीसँगै नेपालको मौलिक संस्कृति र संस्कारमा समेत विकृति हावी हुँदै गएको छ । आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तराद्र्धमा अपहेलित गरी घरबाट बाहिर छोड्ने र वृद्धाश्रममा राख्ने कुसंस्कार मौलाउँदै गएको छ । यस्तो विषम परिस्थितिमा मातृत्व र मातृभूमि प्रतिको दायित्ववोध गराउन मानवसेवा आश्रमले आमा सेमिनार गर्दै आएको छ । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिता र मातृभूमि प्रतिको महत्व वोध गराई, प्रेम, सद्भाव र करुणालाई जन–जनमा पु¥याएर संस्कारयुक्त र सभ्य समाज निर्माण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको मानवसेवा आश्रम बाँके जिल्लाका संयोजक उर्विन सापकोटाले बताउनु भयो ।
समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै कसैले पनि सडकपेटीमा वेवारिसे जीवन बिताउन पर्ने परिस्थिति सृजना नै नहोस् भन्ने आश्रमको उद्देश्य रहेको संयोजक सापकोटाले बताउनु भयो ।
सोही उद्देश्य अनुसार मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरुप मानवसेवा आश्रम २०६९ सालदेखि नै देशव्यापी रुपमा शाखा विस्तार गर्ने क्रममा आश्रमको बाँकेमा २०७९ वैशाखदेखि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिक रुपमा अति कमजोर मानवहरुको उद्धार, औषधी उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ ।
मुठ्ठीदानबाट सञ्चालित आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये ३५ जना पुरुष १२ जना महिला र ३ जना बालबालिका रहेकाछन् ।