राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ५ असार, २०८२
५ असार २०८२, काठमाडौँ । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
केही दिनयताको लगातार अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास-दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या भएकाले आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।
निरन्तर सडक अवरुद्ध भएपछि प्रहरीले पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल तर्फ जान भनेको छ भने काठमाडौँबाट पश्चिम तर्फ जाने सवारी साधनलाई पनि मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवलको नै बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
त्यस्तै लगातार परेको पानीका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडकमा जम्मा भएको हिलो र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ । यसखण्डमा यातायात आवागमनमा सहजता नभएसम्म वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न नेपालले आग्रह गरेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान उनले आग्रह गरेका छन्। त्यस्तै काठमाडौँबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान र पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान नेपालले आग्रह गरे । त्यसैगरी, साना सवारीसाधन भने सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैँडाकोट (नवलपुर) पिपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सकिने उनको भनाइ छ ।
