आईतवार, १० कार्तिक, २०८२

यार्चाजस्तै वस्तु भेटिएको पाल्पाको जंगलमा प्रवेश निषेध

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २० जेष्ठ, २०८२

यार्चाजस्तै वस्तु भेटिएको पाल्पाको जंगलमा प्रवेश निषेध

१९ जेठ २०८२, पाल्‍पा । पाल्पाको रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको छ । स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएको हो ।

गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रिमिघा लेकका झाडी फाँडेर सुन्तलाका बोट लगाउन खाल्टा खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको बताए ।

फेला परेको यार्सागुम्बा जस्तो जडीबुटीलाई चेकजाँच गर्न डिभिजन वन कार्यालय पाल्पासँग समन्वय गरेर प्रयोगशालामा पठाइएको छ । वन क्षेत्रमा यार्चागुम्बा प्रजातिको जडीबुटी भेटिएपछि सोको प्रयोगशाला परीक्षणको कार्य जारी रहेको हुँदा अर्को सूचना नभएसम्मका लागि उक्त क्षेत्रमा प्रवेश नगर्नु,नगराउनुहुन भन्दै गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनाको बर्खिलाप गई वन क्षेत्रमा प्रवेश गरेको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आइतबार जारी प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ । रम्भा गाउँपालिका–३, पिपल डाँडाको रिमिघा पोस पाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै देखिने ढुसी  फेला परेको थियो ।

डिभिजन वन कार्यालयले वनका कर्मचारीलाई खटाएर सङ्कलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइने डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।

advertisement_1760855394.gif