राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ जेष्ठ २३,धादिङ । धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत महिनामा रोपिएको सयपत्री फूलबारी निखार्ने तयारीमा जुटेका छन् ।
धान तथा विभिन्न तरकारी खेतीको सिजन सुरु हुन लागेकाले उनीहरूले फूल खेती समापन गर्दै नयाँ बाली लगाउने तयारी गरेका हुन् ।

किसानहरूका अनुसार दशैं–तिहारको समयमा सयपत्री फूलको माग र मूल्य दुवै उच्च हुने गरेपनि अहिले अफसिजनमा मूल्य उल्लेख्य रूपमा घटेको छ । पर्वका बेला प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुने सयपत्री फूल अहिले प्रतिकिलो ५० रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानहरू बताउँछन् ।
दुई वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएकी स्थानीय किसान फूलमाया तामाङले सिजनमा व्यापारीहरू बारीमै आएर फूल खरिद गर्ने र राम्रो मूल्य दिने गरेपनि अहिले अवस्था फरक रहेको बताइन् ।
उनकाअनुसार अहिले फूल सिधै गाडीमार्फत काठमाडौँको कालिमाटी बजार पठाउनुपरेको छ ।





