राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ जेष्ठ २३, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन गरेका छन् । सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजना गरिएको सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ ।
संघीयता कार्यान्वयनका क्रममा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहकार्य र सहअस्तित्वलाई थप सुदृढ बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
अन्तर-व्यवस्थापिका मञ्चद्वारा आयोजित सम्मेलनको व्यवस्थापन सुदूरपश्चिम प्रदेश सभा सचिवालयले गरेको छ ।
सम्मेलनमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाकी उपसभामुख माननीय रूबी कुमारी, राष्ट्रिय सभाकी उपाध्यक्ष माननीय लिला कुमारी भण्डारी, सातै प्रदेशका सभामुख तथा उपसभामुख, महासचिव र सचिवहरूको सहभागिता रहेको छ ।
शनिबार दिउँसो सुरु हुने बन्द सत्रमा संसदीय प्रणाली र कानुन निर्माणसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । कार्यपत्र प्रस्तुतिपश्चात् संघीयता कार्यान्वयनको अवस्था, सभा सञ्चालनका असल अभ्यास, अन्तर-व्यवस्थापिका समन्वय तथा आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच बृहत् छलफल हुनेछ ।
सम्मेलनमा संघीय संसद र प्रदेश सभाबीच अनुभव आदानप्रदान, संसदीय अभ्यासको प्रभावकारिता तथा संघीय संरचनालाई थप मजबुत बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।