शनिबार, ३ आश्विन, २०८३

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

२०८३ असोज ०३ काठमाडौँ I  भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । १० भदौमा गएको बाढीमा बेपत्ता भएर लामो समयसम्म नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएका हो ।

पत्रकार थामीको कुशको शवमा अन्त्येष्टिअघि  आफन्त, पत्रकार, पेसाकर्मी, राजनीतिज्ञ, नेपाल थामी समाजका प्रतिनिधि लगायतले थामीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघको झन्डा ओढाएकी थिइन् भने नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए । अन्त्येष्टिमा पूर्व मन्त्रीहरू पार्वत गुरुङ, आनन्द पोखरेल, रासस र नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, फोनिजका अध्यक्ष लक्की चौधरीसहित पत्रकारिता, सामाजिक, राजनीतिक, कानुन क्षेत्रका अगुवा र सहकर्मीहरूको उपस्थिति थियो ।

नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए । थामीलाई उनका पिता डीलबहादुर थामीले दागबत्ती दिए । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थिए । 

पत्रकारितामा स्नातकोत्तर ४१ वर्षीय थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा लामो समय काम गरेका थिए । उनले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिताको अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत आफूलाई सक्रिय राखेका थिए ।

गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजक समेत रहेका टेकराज नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्यका साथै नेपाल थामी समाजका पूर्व उपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का पूर्व कोषाध्यक्ष समेत रहेर काम गरेका थिए ।

स्वर्गीय थामी राससकर्मी कालिका खड्काका श्रीमान् हुन्  । उनको छोरी छिन् ।

advertisement_1676551537.gif