राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ असोज ०३ काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जबाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुने र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुने बताएका छन् ।
राष्ट्रपति पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस–२०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले लोकतन्त्र बलियो हुने बताए ।
“हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जबाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन्, यसका लागि आउनुहोस्: आज हामी संविधानलाई भाषणमा होइन: नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ”, उनले भने ।
राष्ट्रपति पौडेलले हामीले अनेकौँ सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको संविधानको साँचो अर्थ त्यही दिनमा बोध हुनेछ जुन दिन कुनै नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि आफ्नो राज्यसँग याचना गर्नुपर्ने छैन भने । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक भएको उनको भनाई थियो ।
उनले संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई देश विकासको महत्त्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिए । उनले संविधान कागजमा लेखिएका शब्द वा वाक्यहरू सङ्ग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गरे ।
सरकार जनताको मालिक नभई ‘सेवक’ बन्नुपर्ने र न्याय राज्यको मूल ध्येय हुनुपर्ने भन्दै उनले कुनै पनि नागरिकले आफ्नै देशमा आफूलाई एक्लो महसुस गर्न नपर्ने वातावरण बनाउन बनाउनुपर्ने बताए । संरचनागत लाभांशको परम्परागत चरित्र तोडेर सबैलाई समान हक, सामाजिक न्याय र समृद्धि सुनिश्चित गर्न तीनै तहका सरकारलाई उनले आग्रह गरे ।
राष्ट्रपति पौडेलले राजनीतिक दल तथा नेतृत्वले असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कार बसाल्नुपर्ने बताए ।
संविधानलाई केवल भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्न र राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण तथा परिणाममुखी बनाउन उनले आह्वान गरे । साथै, उनले प्राकृतिक विपत्तिपछि पुनर्निर्माण गर्दा भत्किएका भौतिक संरचना मात्र नभई विस्थापित परिवारका सपनाहरू फर्काउनुपर्नेमा जोड दिए ।
उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा जेल, नेल, निर्वासन र यातना भोगेका लोकतन्त्रका योद्धाप्रति सम्मान तथा आभार व्यक्त गरे ।
यस वर्षको संविधान दिवस बाढी तथा प्राकृतिक विपत्तिको पीडाबीच मनाउनुपरेको उल्लेख गर्दै उनले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको खोज तथा पहिचानको कामना पनि उनले गरे ।