सोमबार, ४ श्रावण, २०८३

नारायणगढ–मुग्लिङ–काठमाडौं सडक खण्ड आज रातिका लागी बन्द

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

नारायणगढ–मुग्लिङ–काठमाडौं सडक खण्ड आज रातिका लागी  बन्द

२०८३ साउन ०३, चितवन ।निरन्तर भइरहेको भारी वर्षाका कारण पहिरोको जोखिम उच्च भएपछि नारायणगढ–मुग्लिङ–काठमाडौं सडक खण्ड आज रातिदेखि पूर्ण रूपमा बन्द हुने भएको छ । सम्भावित दुर्घटना र मानवीय क्षतिलाई रोक्न जिल्ला प्रशासन कार्यालयले उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

कार्यालयका अनुसार आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस सडक खण्डमा सबै प्रकृतिका सवारी साधनहरूको आवागमन बन्द रहनेछ ।रातको समयमा यात्रा गर्दा पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम अझ बढी हुने भएकाले सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ ।

मौसममा सुधार नआएसम्म र सडक पूर्ण सुरक्षित नभएसम्मका लागि वैकल्पिक मार्गको प्रयोग गर्न तथा अत्यन्त जरुरी नभई यात्रा नगर्न समेत प्रशासनले अपिल गरेको छ ।

advertisement_1676553908.gif