राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २६ पुष, २०८२
२०८२ पुष २६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । आज बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताए ।
घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँड्फाँड गर्नुपर्ने, पार्टीका अन्य पदाधिकारीमा पनि आफ्नो पार्टीका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भंग भएकाबारे सभापति रवि लामिछानेले बैठकमा जानकारी गराएको उनले बताए ।
एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँडको प्रस्ताव आएपछि एकतालाई पूर्णता दिन समस्या भएको नेता खनालको भनाइ छ । पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि एकता अगाडि बढ्न नसकेको रास्वपाको दाबी छ ।