राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ७ फाल्गुन, २०८२
२०८२ फागुन ०७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावका बाचापत्र सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभाबाट पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले सार्वजनिक गरेका हुन् ।
बाचापत्रमा सरकार गठन भएको एक सय दिनमा सहकारीमा फसेको साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्ने बाचा गरेको छ । बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने रास्वपाको भनाई छ ।
भाद्र २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्ने पनि बाचापत्रमा उल्लेख छ ।
‘२०८२ को भाद्र २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्नेछौं’ बाचा पत्रमा भनिएको छ ।
त्यस्तै २०४६ सालदेखि महत्वपूर्ण सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति पारदर्शी र कानुनी प्रक्रियाअनुसार छानबिन गर्नेछौँ । अवैध रूपमा आर्जित प्रमाणित सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्न स्पष्ट कार्यविधि तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रास्वपाको प्रतिबद्धता छ । रास्वपाले कुनै पनि प्रकारका भ्रातृ संगठन निर्माण नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ ।