शुक्रबार, २५ पुष, २०८२

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १६ पुष, २०८२

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

२०८२ पुष १६, काठमाडौँ । राजनीतिक विभाजन, असहमतिहरू र ध्रुवीकरण बढ्दै गएको वर्तमान सन्दर्भमा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ ।

देशमा सहमति, सहकार्य र आपसी विश्वास कमजोर बन्दै गएको बेला प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति फेरि पनि सान्दर्भिक बन्दै गएको विश्लेषण गरिएको छ । यही सन्दर्भमा नेपाली कांग्रेस र यसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले देशभर कार्यक्रम गरी दिवस मनाइरहेका छन् ।

वि.सं. २०३३ साल पुस १६ गते तत्कालीन निरङ्कुश व्यवस्थाविरुद्ध संघर्षरत रहँदा पनि बीपी कोइरालाले राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै निर्वासन त्यागी स्वदेश फर्किने ऐतिहासिक निर्णय गरेका थिए । क्षेत्रीय विखण्डनका घटनाहरू, विशेषतः सिक्किम भारतमा विलय भएको अवस्थालाई नजिकबाट नियालेका बीपीले नेपालमा पनि राष्ट्रिय एकता कमजोर हुन सक्ने खतरा औंल्याउँदै मेलमिलापको नीति अघि सारेका थिए ।

शाही ‘कु’पछि जेल, निर्वासन र निरन्तर राजनीतिक दमन भोगेका कोइरालाले प्रतिशोधभन्दा संवाद र सहअस्तित्वलाई रोज्नु आजको राजनीतिक अभ्यासका लागि उदाहरणीय मानिन्छ । विमानस्थलमा ओर्लिएलगत्तै पुनः बन्दी बनाइए पनि उनले आफ्नो राजनीतिक अडानमा सम्झौता नगरेको इतिहास छ ।

आजको दिवस केवल ऐतिहासिक स्मरण मात्र नभई बढ्दो राजनीतिक तनाव, संस्थागत अविश्वास र समाजिक विभाजनबीच संवाद र सहमतिका लागि आत्मसमीक्षा गर्ने अवसरका रूपमा हेरिएको छ । नेताहरूले बीपीको मेलमिलाप नीतिलाई व्यवहारमा उतार्न सके मात्र लोकतन्त्र, राष्ट्रियता र सामाजिक सद्भाव बलियो हुने धारणा व्यक्त गरेका छन् ।

advertisement_1676553908.gif