बिहीबार, २८ फाल्गुन, २०८२

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १८ पुष, २०८२

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२०८२ पुष १८, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ देखि २८ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल थालेका छन् ।

विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनसम्मको स्थितिमा पुर्‍याउने भन्दै त्यसलाई रोक्न देउवाले छलफल थालेका हुन् । सोहीअनुसार देउवाले बिहीबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए ।

देउवाले महाराजगञ्जस्थित निवासमा बोलाएर कार्यवाहक सभापतिसँग काउण्टर मुभबारे छलफल गरेका हुन् । यही पुस २६ देखि २८ सम्म तोकिएको १५औँ महाधिवेशन नहुने भएपश्चात् महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा जुटेका छन् । हल खोज्ने, विधानमा काम गर्नेलगायत आवश्यक तयारीमा उनीहरू जुटेपछि त्यसलाई रोक्न संस्थापन पक्षले छलफल थालेको हो ।

एक महिनाबढी समयसम्म चलेको सो बैठकमा ‘महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयमा चर्को विवाद भएको थियो। विवाद साम्य पार्दै नेताहरूले नियमित महाधिवेशन मिति टुंगो लगाएका थिए ।

तर, तोकिएकै मितिमा महाधिवेशन नहुने भएपछि विशेष महाविधेशनका माग चर्किंदै जाँदा पार्टी नै विभाजन हुने डिलमा पुगेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्ष नियमित महाधिवेशन २१ फागुनको निर्वाचनपछि गर्ने रणनीतिमा छ ।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका संस्थापनइतरका नेता नियमित महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने पक्षमा छन्। तर, नियमित महाधिवेशन तोकिएकै मितिमा हुने नदेखिएपछि थापा-शर्मा समूह विशेष महाधिवेशन गर्नुपर्र्ने रणनीतिसाथ अगाडि बढेको छ ।

महामन्त्रीद्वयले बिहीबार संयुक्त विज्ञप्ति नै जारी गरेर ‘आगामी २७ पुसदेखि तोकिएको नियमित महाधिवेशन स्थगन’ घोषणा गरेर विशेष महाधिवेशन तयारी थालेका छन् ।

advertisement_1676553851.gif