राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ २५ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सातै प्रदेशका लागि निर्वाचन संयोजक तोकेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनअन्तर्गतका विभिन्न तहका निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र सहजीकरण गर्न सात जना वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश संयोजकको जिम्मेवारी सुम्पिएका हुन्।
निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमती प्रदेशमा कृष्ण अर्याल र गण्डकी प्रदेशमा जगन्नाथ ढकाललाई संयोजक तोकिएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशमा दीपकुमार रेग्मी, कर्णाली प्रदेशमा उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा गंगाराम पाध्यायले प्रदेश निर्वाचन संयोजकको जिम्मेवारी पाएका छन् ।
समितिका संयोजक खड्काले बिहीबार वडादेखि जिल्ला तहसम्मका पार्टी संरचनाहरूलाई पत्राचार गर्दै केन्द्रबाट खटाइएका निर्वाचन अधिकृतहरूसँग आवश्यक समन्वय गरी तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन् । निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार आगामी असोज ३ र ४ गते गाउँ तथा नगरका वडा अधिवेशनहरू सम्पन्न गर्ने समय तोकेको छ ।
त्यसैगरी, असोज ७ गते गाउँ तथा नगरपालिका अधिवेशन र असोज १० गते प्रदेश सभा क्षेत्रीय एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तोकिएको छ । पार्टीले यसअघि नै आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ भने जिल्ला र प्रदेश अधिवेशन भने १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि मात्र गरिने भएको छ ।
बाढी र पहिरोबाट बढी प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङको हकमा भने स्थिति मूल्याङ्कन गर्दै खटाइएका निर्वाचन अधिकृत र पार्टीका स्थानीय तहहरूसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिले विशेष सहजीकरणको निर्देशन दिएको छ ।