राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २६ आश्विन, २०८२
२०८२ असोज २७, काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा घरमै कुटिएपछि उपचारपछि आराम गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि २८ असोजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सार्वजनिक हुने भएका हुन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवा केन्द्रीय समिति बैठकमा सहभागी हुने जानकारी दिएका हुन् ।
जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिएका देउवा बैठकमा सहभागी हुने नहुने निश्चित भएको थिएन ।
बैठकले महाधिवेशन सम्बन्धमा एजेन्डा लैजाने भने पनि कहिले महाधिवेशन गर्ने भन्ने विषयमा सहमति जुटाउन सकेन । केन्द्रीय समितिले मिति तय गर्नेगरी नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजाने र मिति केन्द्रीय समितिबाट तय गर्ने समझदारी बैठकमा बनेको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जनाएकी छन् ।