राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २७ पुष, २०८२
२०८२ पुष २७, काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि शुरू हुँदैछ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । त्यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने छन् ।
महाधिवेशन आयोजक समिति00का अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम शुरू हुनेछ । उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ ।