शनिबार, १३ भाद्र, २०८३

बुढानीलकण्ठ नगरपालिकाले बाढी पीडितका लागि साढे ५५ लाख सहयोग गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

बुढानीलकण्ठ नगरपालिकाले बाढी पीडितका लागि साढे ५५ लाख सहयोग गर्ने

२०८३ भदौ १२ काठमाडौँ । भोटेकोशी नदीमा  हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन बुढानीलकण्ठ नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बुढानीलकण्ठ नगरपालिकाको ९३औँ तथा आकस्मिक नगर कार्यपालिका बैठकले विपद्बाट प्रभावित तथा घाइते नागरिकको सुरक्षित पुनःस्थापना र सहज जीवनयापनका लागि आवश्यक सहयोग गर्ने निर्णय गर्दै उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका रूपमा जनप्रतिनिधि, कर्मचारी तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट समेत गरी एकमुष्ट ५५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यसअघि  विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो ।

नगरपालिकाले आर्थिक सहयोगसँगै विपद्मा परेका नागरिकको उद्धार, उपचार र राहतलाई प्राथमिकतामा राख्ने निर्णयसमेत गरेको छ । विपद् प्रभावित नागरिकलाई घटनास्थलबाट स्वास्थ्योपचारका लागि अस्पतालसम्म लैजान स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन गर्ने तथा नगर प्रहरीको नेतृत्वमा प्रभावित क्षेत्रबाट उद्धार गरिने नागरिकलाई सुरक्षित रूपमा काठमाडौं ल्याउन एक थान चारपांग्रे सवारीसाधन व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।

नगरपालिकाले विपद्को घडीमा नागरिक समाज, निजी क्षेत्र, संघ-संस्था, शुभेच्छुक तथा आम नगरवासीलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गरेको छ । नगरपालिकाको प्राङ्गणमा जिन्सीलगायत राहत सामग्री सङ्कलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने तथा सबै वडामा उपयुक्त स्थानमा घाइतेका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

advertisement_1680627680.gif
अन्य समाचार