राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार १०, अर्घाखॉची । भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ८५ करोड ९६ लाख ७ हजार को प्रस्तावित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औँ अधिवेशनमा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं उप-प्रमुख बालकृष्ण बञ्जाडेले उक्त बजेट वक्तव्य प्रस्तुत गरेका हुन् ।
नगरपालिकाले आगामी वर्षका लागि "कृषि, पर्यटन, उद्योग र रोजगार’’ समृद्ध भूमिकास्थानको मूल आधार" भन्ने दीर्घकालीन नाराका साथ बजेट ल्याएको छ । आन्तरिक आय न्यून रहेको अवस्थामा संघीय र प्रादेशिक बजेट तथा अनुदानमा निर्भर रहनुपर्ने बाध्यतालाई चिर्न आगामी वर्ष करका दायराहरू बढाउने कार्यलाई प्राथमिकता दिइएको वक्तव्यमा उल्लेख छ ।
प्रस्तावित बजेटमा भौतिक पूर्वाधार क्षेत्रको समग्र विकासका लागि रु. १२ करोड १३ लाख २५ हजार विनियोजन गरिएको छ। जसअन्तर्गत नगर र वडाका मुख्य सडकहरूको स्तरोन्नति, नरपानी–ढिकुरा–नुवाकोट सडक र बेल्भोट–असुरकोट–जोगिटारी सडक कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । सडकका अतिरिक्त खानेपानी सुधार र प्रशासनिक भवन निर्माण कार्यलाई पनि बजेटले समेटेको छ ।
यसैगरी, सामाजिक विकास क्षेत्रतर्फ सबैभन्दा ठूलो हिस्सा अर्थात् रु. २४ करोड ३३ लाख ४ हजार विनियोजन गरिएको छ। शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मात्रै रु. २ करोड ९९ लाख ४३ हजार छुट्याइएको छ भने सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क स्यानिटरी प्याड व्यवस्थापनका लागि रु. १३ लाख ३६ हजार विनियोजन गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आधारभूत औषधि खरिद, महिला स्वास्थ्य स्वयंसेविका सहयोग कार्यक्रम, र ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य सेवा जस्ता लोकप्रिय कार्यक्रमहरू समावेश छन् ।
आर्थिक विकासतर्फ कृषि र पशुपालनको दीगो विकासका लागि प्राङ्गारिक खेती प्रणाली र कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर तथा कृषि सामग्री उपलब्ध गराउन बजेट व्यवस्था गरिएको छ । यस क्षेत्रका लागि जम्मा रु. ४८ लाख विनियोजन गरिएको छ ।
नगरको विपद् प्रतिकार्य योजनाका लागि विपद् व्यवस्थापन कोषमा रु. २० लाख छुट्याइएको छ । प्रशासनिक संयन्त्रलाई चुस्त र पारदर्शी बनाउन सार्वजनिक निर्माणका कामहरूमा E-bidding (इ-बिडिङ) प्रणालीलाई निरन्तरता दिइने र सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण जस्ता कार्यहरूलाई अनिवार्य गरिने वक्तव्यमा उल्लेख छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको रु. ८५ करोड ९६ लाख ७ हजारको स्रोतमध्ये संघीय सरकार ससर्त अनुदानतर्फ रु. ३५ करोड २५ लाख, संघीय वित्तीय समानीकरणतर्फ रु. ११ करोड ३० लाख, र आन्तरिक स्रोतबाट रु. ८२ लाख परिचालन गरिने लक्ष्य राखिएको छ । त्यस्तै वन रोयल्टी, विद्युत रोयल्टी, राजस्व बाँडफाँड र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानहरूलाई आयको स्रोत मानिएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ को संशोधित कुल आय र व्यय भने रु. ६४ करोड ७३ लाख २४ हजार रहने अनुमान नगरपालिकाले गरेको छ । उप-प्रमुख बञ्जाडेले प्रतिकूल आर्थिक परिस्थितिका बाबजुद नगरबासीको आकांक्षालाई सम्बोधन गर्ने गरी सन्तुलित बजेट ल्याउने प्रयास गरिएको बताउँदै यसको सफल कार्यान्वयनमा सबै पक्षको रचनात्मक सहयोग रहने विश्वास व्यक्त गरे ।