शुक्रबार, १२ असार, २०८३

गुल्मी दरबार गाउँपालिकाले गर्यो ५५ करोड ५६ लाखको बजेट सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

गुल्मी दरबार गाउँपालिकाले गर्यो ५५ करोड ५६ लाखको बजेट सार्वजनिक

२०८३ असार ११, गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३//०८४ का लागि रु ५५ करोड ५६ लाख ४४ हजारको बजेट सार्वजनिक गरेको छ । १९औँ गाउँ सभामा प्रस्तुत बजेटमा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

“सबल, सक्षम उत्थानशील स्थानीय सरकार समृद्ध र समुन्नत गुल्मी दरबार” भन्ने सोचका साथ ल्याइएको बजेटले सुशासन, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार विकासमार्फत गाउँपालिकाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने लक्ष्य राखेको छ ।

उपाध्यक्ष तारा थापा ढेंगाद्वारा प्रस्तुते कुल बजेटमा चालुतर्फ रु ३६ करोड ११ लाख ६८ हजार र पुँजीगततर्फ रु १९ करोड ४४ लाख ७६ हजार विनियोजन गरिएको छ ।

बजेटले कृषि तथा पशुपालन प्रवर्द्धन, भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवा विस्तार, खानेपानी तथा सरसफाइ, विपद् व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, स्वरोजगार तथा रोजगारी सिर्जना र सामाजिक समावेशितालाई प्रमुख प्राथमिकताका साथ समेटेको छ ।

बजेटमा शिक्षा क्षेत्रमा डिजिटल सिकाइ, छात्रवृत्ति, विद्यालय पूर्वाधार सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने भएका छन् । त्यसै गरी स्वास्थ्य क्षेत्रमा आधारभूत अस्पतालमा एमबीबीएस चिकित्सक सहित २४ सै घण्टा सेवा, निःशुल्क औषधि वितरण, ग्रामीण अल्ट्रासाउण्ड सेवा तथा दीर्घ रोगीलाई उपचार सहयोग उपलब्ध गराइने भएको छ ।

त्यसै गरी कृषि क्षेत्रमा रु ५० लाखको गुल्मी दरबार कृषि परियोजना, पशुपालन प्रवर्द्धन, बाख्रा स्रोत केन्द्र स्थापना तथा सिँचाइमा विद्युत् महसुल अनुदानको व्यवस्था गरिएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रु तीन करोड १५ लाख विनियोजन गरिएको छ भने विभिन्न सडक स्तरोन्नति तथा वडा कार्यालय निर्माणका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

महिला उद्यमशीलता, ज्येष्ठ नागरिक सम्मान, बालमैत्री स्थानीय शासन, विपन्न नागरिक सहयोग तथा हिंसापीडितका लागि सुरक्षित गृह सञ्चालन लगायत सामाजिक सुरक्षाका कार्यक्रमलाई समेत बजेटले उच्च प्राथमिकतामा राखेको छ ।

advertisement_1676998982.gif