राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ असार ०४, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरसभामा कार्यवाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रमसँगै आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्दै उक्त बजेट घोषणा गरेकी हुन् ।
प्रस्तावित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत खर्च हुने अनुमान गरिएको छ भने ७५ करोड रुपैयाँ अन्य दायित्वतर्फ विनियोजन गरिएको छ ।
महानगरका अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी तथा बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत जुट्ने अपेक्षा गरिएको छ । त्यसैगरी संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समानीकरण र राजस्व बाँडफाँड अनुदानमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । जनसहभागिताबाट थप १ करोड रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ ।
क्षेत्रगत रूपमा हेर्दा पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ । यस शीर्षकमा १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत छुट्याइएको छ ।
सामाजिक विकासतर्फ २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ (९.६ प्रतिशत), आर्थिक विकासका कार्यक्रमका लागि ५४ करोड १८ लाख २० हजार रुपैयाँ (२.१ प्रतिशत) तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ (८.५ प्रतिशत) विनियोजन गरिएको छ ।
यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ अर्थात् कुल बजेटको १८.८ प्रतिशत रकम प्रस्ताव गरिएको छ ।
महानगरले चालु आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत गरेको थियो ।