राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ बैशाख ३०,काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत शिक्षण संस्थाहरूमा उपलब्ध छात्रवृत्ति कोटामा विद्यार्थी छनोट गर्नका लागि परीक्षा प्रणाली अपनाउन लागेको हो ।
महानगरपालिकाले जारी गरेको सूचना अनुसार छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले २०८३ साल जेठ १ गते बिहान १० बजेदेखि अनलाइन आवेदन दिन सक्नेछन् ।
आवेदन फाराम भर्ने अन्तिम म्याद जेठ १० गते राति ११ः५९ बजेसम्म तोकिएको छ। विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा तोकिएको अनलाइन आवेदन पोर्टल मार्फत सजिलै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
छात्रवृत्ति छनोटका लागि लिइने परीक्षा २०८३ साल जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने तय भएको छ । परीक्षामा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरपालिकाले स्पष्ट पारेको छ ।
विभिन्न विषयगत अङ्कभार, कुन विद्यालयमा कति छात्रवृत्ति कोटा उपलब्ध छ र परीक्षा केन्द्रहरू कहाँ-कहाँ रहनेछन् भन्ने जस्ता विस्तृत विवरणहरू महानगरपालिकाको वेबसाइटमा उपलब्ध गराइएको छ । महानगरपालिकाले पारदर्शी र निष्पक्ष रूपमा जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्न यो परीक्षा प्रणाली सञ्चालन गर्न लागेको हो ।