राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १ बैशाख, २०८३
२०८३ बैशाख ०१, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु भएको छ । साझा यातायातले आज बेलुकी ८ देखि ११ बजेसम्म रात्रिकालिन बस सेवा सुरु गरेको हो ।
बजेसम्म रात्रिकालिन बस सेवाको उद्घाटन काठमाडौँ महानगरपालिकाकी कार्यकारी प्रमुख सुनिता डङ्गोलले गरेकी हुन् । काठमाडौँ नगरपालिकाका अनुसार सुरुमा दुई मुख्य रुटमा चार वटा बस चले पनि आवश्यकता हेरेर फेरि थपिँदै लगिने बताइएको छ ।
पहिलो रुट ललितपुर क्षेत्रको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल तथा गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म विस्तार गरिएको छ । उत्तर–दक्षिण जोड्ने यो मार्गको एकतर्फी दूरी करिब १६ किलोमिटर रहेको जनाइएको छ ।
दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ । पूर्व-पश्चिम जोड्ने यस मार्गको एकतर्फी दूरी करिब २० किलोमिटर छ ।