राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १७ फाल्गुन, २०८१
१७, फागुन, पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा पाँचौ संस्करणको प्रतियोगिता शुक्रबार बाट सुरु भएको हो । रामपुर नगरपालिका–६,विजयपुर स्थित दरैठाँटी माविको खेल मैदान सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका विच शुभारम्भ गरिएको छ ।
प्रतियोगिताको उट्घाटन गर्दै रामपुर नगरपालिका उप–प्रमुख बालकुमारी थापाले प्र्रतियोगिताले विद्यार्थीको अन्तरनिहित खेल प्रतिभाको पहिचान संगै खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । रामपुर नगरपालिकाले खेलकुद क्षेत्रको उत्थानका लागि भौतिक पूर्वाधार निर्माण, तालिम संगै उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको बताउनुभयो । दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले विगतको स्वरुपलाई परिवर्तन गरी प्रतियोगिता बाट उत्कृष्ट प्रतिभालाई छनौट गरी जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने बताउनुभयो । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेलको विकासको लागि खेलकुदका गतिविधि वार्षिक रुपमा मात्र नभै नियमित रुपमा सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । खेलमा जित मात्र नभै सिक्ने अवसर पनि प्राप्त हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सहसचिव दुर्गेश मल्लले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसर बेला बेलामा हुने प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरी २० विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । एथ्लेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्ट विद्याका छात्र र छात्राहरूको २७ इभेन्टमा प्रतियोगितामा प्रतिस्पर्धा हुने नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिनेछ । विगतमा विजेता विद्यालयलाई नगद, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिदै आएकोमा यस वर्ष प्रतियोगिताका विजेता विद्यार्थीलाई मात्र पुरस्कृत गरिने काफ्लेले बताउनुभयो ।
कार्यवाहक नगर प्रमुख एवं रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्थानिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य दिपेन्द्र भट्टराईले गर्नु भएको हो ।