राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २१ फाल्गुन, २०८१
२१ फागुन २०८१, पाल्पा । पाल्पाको तानसेनकाे श्रीनगर सांस्कृतिक डबली संचालनमा आएकाे छ । लुम्विनी प्रदेश सरकारको करिब ७ कराेड लगानीमा बनेकाे डबली बुधबारदेखि संचालनमा आएकाे हाे ।
प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि डबली संचालन भएकाे घाेषणा तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठले गरेका हुन् । साे अवसरका उहाँले डबली संचालनले तानसेनमा पर्यटक प्रबर्द्धन गर्न सहयाेग पुग्ने विस्वास व्यक्त गर्नुभयाे । २०७६ सालदेखि निर्माण भएकाे डबली तीन वर्षअघि सम्पन्न भएकाे थियाे । डबली बनेपछि ढिला गरी प्रदेश सरकारले तानसेन नपालाई हस्तान्तरण गरेकाे थियाे ।
तानसेन नगरपालिकाले डबली संचालनमा लागि निजी क्षेत्र तथा संघसंस्थाका लागि प्रस्ताव पेश गर्न भनेपनि कसैले पनि डबली चलाउन रुचि देखाएका थिएनन् । जिल्लाका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले प्रदेश सरकारको रु छ करोड ८२ लाख ५६ हजार ९१ रूपैयाँ लगानीमा डबली निर्माण गरिएको नगर उपप्रमुख प्रतीक्षा सिंजालीगाहाले बताउनुभयाे । डबलीमा पाल्पाका विभिन्न जातजातिका नाच तथा सांस्कृतिक पहिचान झल्कने प्रस्तुती देखाएर पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएकाे छ ।
सांस्कृतिक डबली निरन्तर संचालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताए ।