राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ५ पुष, २०८२
२०८२ पुष ०५, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गरेका छन् ।
आज कारागारको निरीक्षण गर्दै उनले खालि रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउनका लागि आवश्यक व्यवस्था गरिने बताए ।
मन्त्री अर्यालले कैदी बन्दीको मानवअधिकारको उच्च ख्याल गर्दै कारागारभित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनुपर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिएको उनका प्रेस संयोजक पुरुषोत्तम खत्रीले जानकारी दिए ।
उनले कैदीको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राख्दै कमजोरी भए सुधार गर्न कारागार प्रशासनको ध्यानाकर्षण गराए ।
त्यस क्रममा कैदी बन्दीका आफन्तले कारागारसम्म पुग्ने सडक पूर्वाधार निकै कमजोर भएको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री अर्यालले सडक पूर्वाधार छिट्टै सुधारका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाएको उनको सचिवालयले जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले हाल देशका विभिन्न बाल सुधार गृहमा रहेका र अवधि बाँकी भएका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्न केन्द्रीय कारागारमा खाली रहेको एउटा ब्लकलाई सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो ।
उक्त ब्लकमा बढीमा पाँच सय जना बालबिज्याइँकर्तालाई राख्न सकिने जनाइएको छ । हाल देशभर आठ वटा सुधार गृह रहेका छन्। तीमध्ये चार वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालनमा छन् ।