आईतवार, १० श्रावण, २०८३

गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २६ असार, २०८३

गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

२०८३ असार २६, काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी निधन भएका गणेश नेपालीको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । मन्त्री गुरुङले समितिलाई घटनाको सम्पूर्ण पाटोको गहिरो अध्ययन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको स्पष्ट पारे ।

यसैगरी, घटनामा संलग्न रहेको आशंकामा काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुने भन्दै दोषी ठहरिने जो–कोहीलाई पनि कानुनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विल लक’ लगाइदिएपछि विवाद उत्पन्न भएको थियो । सोही क्रममा मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

advertisement_1676553908.gif