राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १७ मंसिर, २०८२
२०८२ मंसिर १६, काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा (एमाले)की रेवती गुरूङ नियुक्त भएकी छिन् ।
गत भदौमा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको मृत्यु भएपछि रिक्त रहेको स्थानमा गुरुङलाई नियुक्त गरिएको हो । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले गुरुङलाई शपथ गराएका छन् ।
रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीय सदस्य सरिता पुनको गत भदौँ १४ गते उपचारका क्रममा निधन भएको थियो।
सरिता पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी रेवती गुरुङलाई मनोनयन गरिएको हो । गुरुङ एमालेको बन्दसूचिमा क्रम संख्या १३ मा रहेकी थिइन् र प्राथमिकता सूचीको पहिलो स्थानमा परेको कारण रिक्त पदमा नियुक्त हुन पाएकी हुन् ।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३०(२) तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७(५) बमोजिम रिक्त स्थानमा सूचीकृत क्रमअनुसारका उम्मेदवार नियुक्त गरिने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले गुरुङलाई नियुक्त गरेको हो ।