राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ६ पुष, २०८२
२०८२ पुष ०६, काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूहले भोलिदेखि देशव्यापी रूपमा ‘संयुक्त जेन–जी’ आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार आयोजित एक कार्यक्रममार्फत उक्त आन्दोलनको औपचारिक घोषणा गरिएको हो ।
ढुंगानाले भोलि बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन आह्वानसमेत गरेका छन् ।
भदौ २३–२४ गते भएको आन्दोलन र त्यसले उठाएका मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको आरोप छ । सरकार गठन भएको सय दिन बितिसक्दा पनि जनताले महसुस गर्ने खालको कुनै उपलब्धि नभएको उनले टिप्पणी गरे ।
कार्की सरकारले जेन–जी आन्दोलनको मर्म नबुझेको र समग्र युवाको नेतृत्व गर्न असफल भएको भन्दै ढुंगानाले सर्वपक्षीय सरकार गठनको माग गरे । सबै पक्षलाई विश्वासमा लिन सक्ने राजनीतिक नेतृत्व अहिले देशका लागि आवश्यक रहेको उनको भनाइ छ ।
आन्दोलन घोषणा कार्यक्रममा रविकिरण हमालसहित विभिन्न जेन–जी अभियन्ता तथा अगुवाहरूको उपस्थिति रहेको थियो ।