राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ४ पुष, २०८२
२०८२ पुष ०४, काठमाडौं । मधेशमा रिक्त सभामुखको निर्वाचनको लागि मधेश प्रदेश सभा सचिवालयले निर्वाचन तालिका प्रकाशन गरेको छ । मंसिर ६ गते हुने सभामुख निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउन सकिने तालिकामा उल्लेख छ ।
प्रदेश सभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाका अनुसार शनिबार दिउँसो साढे ३ बजे दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ । सार्वजनिक सूचीका आधारमा आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।
समर्थकले समर्थन गरेपछि उम्मेदवारमाथि सामूहिक छलफलपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गर्ने कार्यतालिका रहेको उल्लेख छ । प्रस्तावित उम्मेदवारले आफ्नो एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
पद अनुकूल आचरण नगरेको अभियोग लगाएर गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले दुई तिहाइ बहुमतले पदमुक्त गरेपछि सो पद रिक्त छ । सातलीय गठबन्धनमा जसपाबाट सभामुख बनाउने सहमति भएको छ । सभामुखका लागि जसपाबाट प्रदेश सांसद रामअशिष यादव र मनिष सुमनको नाम चर्चामा छ ।
.png)