आईतवार, १० श्रावण, २०८३

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३२ असार, २०८३

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी

२०८३ असार ३२, काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यमा मतियारको भूमिका खेलेको आरोपमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।

विशेष अदालतका अनुसार, पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ । विभागले दाबी गरेको उक्त बिगोका अतिरिक्त पौडेलको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ समेत जफत गर्न माग गरेको छ । 

पूरक आरोप पत्रमा विष्णुप्रसाद पौडेलको हकमा २० करोड ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ । साथै, उनको एभरेस्ट बैंक लिमिटेडमा रहेको खातामा मौज्दात ६ लाख ३४ हजार ४४१ रुपैयाँ ५४ पैसा जफत गर्न माग दाबी गरिएको विशेष अदालतको सूचनामा उल्लेख छ।

उक्त मुद्दामा दीपक भट्टसहित अन्य व्यक्ति र कम्पनीलाई समेत प्रतिवादी बनाइएको छ। थप अनुसन्धानबाट प्राप्त विवरणका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

advertisement_1680627680.gif