राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २६ मंसिर, २०८२
२०८२ मंसिर २५, काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले आज पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ ।
उनीहरूसँग बयान लिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीले बुधबारै प्रश्न तयार पारिसकेका छन् । यसअघि आयोगले मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरेको थियो ।
खापुङ जेनजी आन्दोलनका बेला नेपाल प्रहरीका महानिरीक्षक थिए । भदौ २३ गतेको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ ।
यसअघि खापुङलाई आयोगले स्पष्टीकरण पनि मागेको थियो। आयोग गठन भएको केही दिनमै आयोगले प्रहरीसँग फिल्डमा खटिएका प्रहरीहरूको विवरण माग गरेको थियो । जवाफमा प्रहरीले जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको जानकारी गराएको थियो ।
त्यसपछि आयोगले अर्को पत्र पठाएको थियो । तर लामो समयसम्म जवाफ नपठाएपछि आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टाको समय दिँदै स्पष्टीकरण मागिएको थियो । यहीबीच उनले स्पष्टीकरणसहित आयोगले माग गरेको विवरण पनि पठाएका थिए ।