राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३० असार, २०८३
२०८३ असार ३०, काठमाडौँ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौँले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय निर्धारण गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण सम्बन्धी सुनुवाइ गर्दै खाणलाई एकीकृत सजाय स्वरूप उक्त फैसला सुनाएको हो । अदालतले उनलाई फरक–फरक कसुर अन्तर्गत ठगीमा १ वर्ष कैद र १० हजार जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार जरिबाना तोकेको थियो भने थप ३ महिना कैदको सजाय समेत निर्धारण गरेको थियो ।
यी सबै सजायहरूमा एकीकृत फौजदारी कानुन अनुसार संकलन गर्दा उनले कुल दुई वर्ष कैद र २० हजार जरिबाना भुक्तान गर्नुपर्नेछ । यसअघि गत असार २४ गते न्यायाधीश खड्काकै इजलासले यस बहुचर्चित प्रकरणमा १६ जनालाई दोषी ठहर गर्दै ७ जनालाई सफाइ दिने फैसला सुनाएको थियो, जसमध्ये खाणको सजाय निर्धारण गर्न आज मंगलबारका लागि समय तोकिएको थियो ।