सोमबार, ११ कार्तिक, २०८२

प्रतिनिधिसभाका १० वटै समितिले पायो नेतृत्व। सबै निर्विरोध निर्वाचित।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ११ भाद्र, २०८०

प्रतिनिधिसभाका १० वटै समितिले पायो नेतृत्व। सबै निर्विरोध निर्वाचित।

काठमाडौँ। सत्ता र प्रतिपक्षले भागबण्डा गर्दा प्रतिनिधिसभाअन्तर्गतका सबै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका १० समितिको नेतृत्वका लागि आज ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो । तर पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि सबै निर्विरोध भएका हुन् ।

भागबन्डाअनुसार कांग्रेसले तीन, एमालेले दुई, माओवादी केन्द्र, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमतले १–१ समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए।राष्ट्रिय स्वतन्त्र पार्टीले भने कसै संग  गठबन्धन नगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएको थियो। पछि पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि उक्त समितिमा जनमतका अब्दुल खान निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यस्तै, सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका छन् ।

संसद् सुरु भएको साढे ७ महिनापछि संसदीय समितिले नेतृत्व पाएको हो । २०७९ पुस अन्तिम साता संसद्को पहिलो बैठक बसेको थियो भने वैशाख १५ मा संसदीय समिति गठन भएका थिए । दलहरूबीचको द्वन्द्व, भागबन्डा र गुटबन्दीका कारण समितिले नेतृत्व पाउन सकेको थिएन । त्यस्तै संसदीय समितिहरूले गठनको ४ महिना पछि मात्र नेतृत्व पाएका हुन् ।

advertisement_1760855394.gif