शनिबार, ३० फाल्गुन, २०८२

प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३० मंसिर, २०८२

प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी

२०८२ मंसिर २९, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको सूचीमा रहेका ज्ञवालीले महासचिवबाहेक अन्य पदमा आफ्नो इच्छा नरहेको बताएका हुन् ।

स्रोतका अनुसार, आइतबार साँझ गुण्डुमा भएको छलफलमा पनि ज्ञवालीले आफू महासचिव बाहेकको पदमा उम्मेदवारी नदिने अडान लिएका थिए । यद्यपि प्यानल बन्ने बेलामा उनलाई उपाध्यक्षको लिस्टमा राखिएको थियो।

जसमा उनले सहमति जनाएनन् । आज बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिएका ज्ञवाली पछि पुनः मनोनयनका लागि पुगेका थिए ।

उनले केन्द्रीय कमिटी सदस्यका लागि मनोनयन गर्दा गराएको उनीनिकट स्रोतले बताएको छ । ज्ञवालीले आफू निकटस्थहरूसँग एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति उचित नभएको टिप्पणी गरेका छन् ।

‘म एमालेको पदाधिकारी थिएँ । अब कार्यकर्ता रहन्छु । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने थियो,’ निकटस्थहरूसँग ज्ञवालीले भनेका छन्, ‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति उचित भएन । मेरो मन एकदमै दुखेको छ ।’

उनले आफू पार्टी आन्दोलनमै रहेको पनि बताएका छन् । ‘म पार्टी आन्दोलनमै छु । केन्द्रीय सदस्यबाहेक मेरो उम्मेदवारी अन्त रहेन,’ ज्ञवालीले भनेका छन् ।

advertisement_1676553908.gif