शनिबार, ३० फाल्गुन, २०८२

पटक-पटक स्थगित हुँदै आएको रवि र छविको मुद्दामा आज पेसी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३ पुष, २०८२

पटक-पटक स्थगित हुँदै आएको रवि र छविको मुद्दामा आज पेसी

२०८२ पुष ०३, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको मुद्दाको पेसी आज तोकिएको छ ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको साप्ताहिक पेसी आज परेको हो ।

पटक–पटक स्थगित हुँदै आएकाले आजको पेसी पनि सुनुवाइ हुने वा नहुने यकिन छैन । यसअघि मंसिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो । त्यसअघि मंसिर ११ गतेको पेसी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।

हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेसी स्थगित गरिएको छ । लामिछाने र जोशीको यो पेसी कात्तिक १३ गतेयता निरन्तर सातौं पटकको हो ।

कानुनअनुसार एउटै मुद्दामा पक्ष र विपक्ष दुवैबाट अधिकतम दुई–दुई पटक मात्र पेसी स्थगित गर्न पाउने व्यवस्था छ । यस मुद्दामा सरकारी पक्षबाट भने कुनै पनि पटक पेसी स्थगित भएको छैन । बिहीबारको पेसी गत १३ गतेपछि निरन्तर सरिरहेको छ ।

लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।

लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् । लामिछानेले आफू सहकारीको शेयर सदस्य नभएको र ऋण लिने कुनै पनि प्रकृयामा संलग्न नरहेको दावी गर्दै सहकारी ठगीमा संलग्न नरहेको इन्कारी बयान दिंदै आएका छन् ।

advertisement_1676553908.gif