मंगलवार, १२ कार्तिक, २०८२

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्चद्वारा खारेज

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १२ मंसिर, २०८१

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ। प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश माग गर्दै दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश  नित्यानन्द पाण्डे र महेश शर्मा पौडेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको  रिट बुधबारसर्वोच्च अदालतले खारेज गरेको हो । साइवर अपराधको कसुरमा थुनामा रहेका प्रसाईलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्न नमिल्ने भन्दै सर्वोच्चले रिट खारेज गरिदिएको हो। 

साइवर अपराधको कसुरमा पक्राउ परेपछि प्रसाईंका छोरा निराजन प्रसाईंले गैरकानुनी रुपमा थुनामा राखेको दावी गर्दै गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । ‘ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको, अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।

उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस अघि  न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको थियो। सोही आदेशअनुसार मंगलबार प्रहरीले प्रसाईंलाई अदालत उपस्थित गराएको थियो।

सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले एउटा भिडियो सार्वजनिक गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली हस्ताक्षर रहेको बताएको थियो। 

advertisement_1676551694.gif