राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २९ भाद्र, २०८१
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमालेले , २०८४ को निर्वाचनमा बहुमत ल्याउने उद्देश्यले बृहत् कार्ययोजना बनाएको छ । शुक्रबारको सचिवालय बैठकमा पार्टीले बलियो, निर्णायक राष्ट्रिय शक्ति निर्माण र सार्वजनिक संलग्नतालाई सुधार गर्नेतर्फ केन्द्रित वार्षिक रणनीति बनाएको हो । महासचिव शंकर पोखरेलले यो योजनाले युवा पुस्तामा पार्टीको गतिविधि विस्तार गर्ने र जनसम्पर्क अभिवृद्धि गर्न जनसङ्गठनलाई सदुपयोग गर्ने प्राथमिकतामा राखेको बताए ।
अधिवेशन हुन बाँकी जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र र सबै तहका अधिवेशनहरू मङ्सिर मसान्तभित्र सम्पन्न गरी सक्ने योजनासहित पार्टी सदस्यता नवीकरणलाइ प्राथमिकतामा राखेको बताइएको छ । कार्य योजनामा नयाँ सदस्यहरूलाई भूमिका दिने र छाडेकाहरूलाई पुनः एकीकरण गर्ने, पार्टी एकता अभिवृद्धि गर्ने र द्वन्द्व व्यवस्थापन संयन्त्र लागू गर्नेलगायत १८ विशेष उद्देश्यहरू छन्।
यो बर्ष पार्टी स्कुल सञ्चालनलाई अभियानका रूपमा अगाडि बढाइने भएको छ । पार्टीका सम्पूर्ण सदस्यहरूले बर्षमा एकपटक पार्टी स्कुलको प्रशिक्षण लिनुपर्ने र जिम्मेवारी दिँदा प्रशिक्षणलाई मूल्याङ्कनको विषय बनाइने भएको छ । सरकार र जनप्रतिनिधिको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय पनि कार्ययोजनामा राखिएको छ । त्यसैगरी प्रचार कार्यका सन्दर्भमा पनि पार्टीले परम्परागत प्रचारसँगसँगै सोसल मिडियाको प्रयोगलाई सबै तहका कमिटीहरूले प्रभावकारी रूपमा सदुपयोग गर्ने विषयलाई जोड दिइने भएको छ ।
यस बर्षदेखि हरेक कमिटीले आफ्नो बार्षिक बजेट तयार गर्नुपर्ने र बजेट अनुसार आम्दानी र खर्चको व्यवस्थापन गर्नुपर्ने विषयलाई कार्ययोजनामा राखिएको छ ।
पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणको विषयलाई पार्टीको बार्षिक कार्ययोजनाको महत्वपूर्ण विषय बनाइएको छ ।
पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा निर्माण गरी २०८४ को निर्वाचनमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी सफलता प्राप्त गर्न यसबर्ष युवाबीचको काममा जोड दिइने भएको छ । यसका लागि विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी ४० बर्षमुनिका युवालाई समेट्ने गरी ‘युवा– समिट’ आयोजना गरिने महासचिव शंकर पोखरेलले २०७२ को महाभूकम्पमा यसअघिको मुख्यालय ध्वस्त भएपछि प्राथमिकतामा परेको स्थायी केन्द्रीय कार्यालय भवनको विकासमा केन्द्रित हुँदै प्रशासनिक सुधारलाई पनि सम्बोधन गरेको थियो ।
सचिवालयले संसदीय मुद्दाहरू, विशेष गरी उपसभामुख इन्दिरा रानामारको भूमिकाबारे पनि छलफल गरेको थियो, यद्यपि उनको स्थितिमा कुनै निष्कर्षमा पुग्न सकेन। पोखरेलले यस विषयमा थप समीक्षा र स्पष्टीकरण आवश्यक रहेको बताए ।
एमालेले अघि सारेका १८ बुँदे कार्य योजना
१. सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण।
२. नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने)।
३. अरू पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने।
४. कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने।
५. पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने।
६. पार्टी स्कुल सञ्चालनलाई अभियानको रूपमा चलाउने। प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कुलमा भाग लिनैपर्ने।
७. सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने। जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने।
८. पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गर्ने। केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने।
९. पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने। हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने।
१०. कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने।
११. हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने। त्यसअनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने।
१२. पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रूपमा लैजाने।
१३. बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने।
१४. प्रवासमा रहेका प्रवासीबीचको कामलाई देशहितको पक्षमा परिचालन गर्ने।
१५. पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने।
१६. नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी सबै काम सम्पन्न गर्ने।
१७. नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने।
१८. ४० वर्षमुनिका युवाको ‘युथ समिट’ आयोजना गर्ने।