राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८२ कार्तिक १०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना गरेका हुन् ।
देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ । राष्ट्रपति यस वर्ष भने गुह्वेश्वरीमा मात्रै गएर पूजा आराधाना गरे ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी(गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ । छठ पर्वका अवसरमा सोमबार अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रूपमा सजाइएको थियो ।
छठ पर्व हेर्ने सर्वसाधारणहरूको पनि छठ घाटमा उल्लेख्य भीड रहेको छ । गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ ।
सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका ब्रतालु मंगलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ ।