राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज ११ काठमाडौँ I देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र उपकरणमा आएको खराबीले गर्दा विद्युत् पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।
पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रका प्रसारण लाइन, सब-स्टेशन तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुग्दा देशका धेरै भागमा विद्युत् आपूर्ति नराम्ररी प्रभावित भएको छ ।
बाढी र प्रसारण लाइनमा आएको खराबीका कारण पोखरा क्षेत्रमा सबैभन्दा धेरै असर परेको छ । कुस्मा-न्यू बुटवल २२० किलोभोल्ट लाइनमा समस्या आउँदा करिब २०० मेगावाट र राहुघाट-दाना १ र २ नम्बर लाइन अवरुद्ध हुँदा करिब १५५ मेगावाट विद्युत् रोकिनाका साथै कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस-नामर्जुङ, सेती नदी-करुवासेट, अपर दोर्दी र मोदी लगायतका जलविद्युत् आयोजनाहरूमा बाढी पसेपछि उत्पादन तथा आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ । पोखरा क्षेत्रका आयोजनाहरूबाट मात्रै ४०० मेगावाटभन्दा बढी विद्युत् क्षमता प्रभावित भएको छ ।
यस्तै, राहुघाट र बुटवल क्षेत्रमा न्यू बुटवल-कुस्मा २२० किलोभोल्ट लाइनमा समस्या आउँदा करिब ११० मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ भने न्यू भरतपुर-न्यू बुटवल २२० किलोभोल्ट लाइनमा रुख ढलेर पुगेको क्षतिलाई पछि मर्मत गरी पुनः सञ्चालन गरिएको छ । चापर-पथलैया १३२ किलोभोल्ट लाइन बन्द हुँदा कावासोती सब-स्टेशनमा १ घण्टा विद्युत् कटौती गरिएको थियो ।
हेटौँडा र तराई क्षेत्रतर्फ माण्डु ६६ किलोभोल्ट क्षेत्रमा बाढीका कारण करिब ३२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ भने भरतपुर सब-स्टेशनमा रहेको क्यापेसिटर भोल्टेज ट्रान्सफर्मर जलेर क्षति पुगेको छ ।
यसबाहेक सिमरा सब-स्टेशनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगहरूमा करिब ८० मेगावाट तथा कामने सब-स्टेशन र औद्योगिक क्षेत्रमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ ।
काठमाडौं उपत्यकाभित्र पाटन सब-स्टेशन र टेकु क्षेत्रमा बिहान करिब १० मिनेट विद्युत् अवरुद्ध भएको थियो, जहाँ स्युचाटार ६६ किलोभोल्ट लाइन एकैपटक अत्यधिक चापमा परेकाले आपत्कालीन विद्युत् आपूर्ति प्रयोग गरिएको थियो ।
साथै, कावासोती, हरदी, सुनवल, सिमरा, अमलेखगञ्ज र वीरगञ्ज लगायतका विभिन्न औद्योगिक तथा सब-स्टेशन क्षेत्रहरूमा विभिन्न समयमा विद्युत् कटौती गरिएको छ। प्रसारण लाइन, जलविद्युत् गृह र सब-स्टेशनहरूमा आएको अवरोधका कारण हालसम्म देशभर कुल मिलाएर करिब १,३०३ मेगावाट विद्युत् आपूर्ति प्रभावित हुन पुगेको छ ।