राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज १२ काठमाडौँ I अविरल वर्षाका कारण जमिन गलेर ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोमबार बिहान साढे दुई तले घर ढलेको छ ।
स्थानीय सोवितकुमार थापाको साढे दुई तले पक्की घर बिहान करिब ६ बजेर ३५ मिनेटको समयमा भत्किएर ढलेको ललितपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । भिरालो सतहमा बनेको उक्त घर निरन्तरको वर्षाका कारण मुनिको माटो गल्दै जाँदा जगसहित खसेको हो ।
घर जोखिममा रहेको पहिचान गरी प्रहरी र स्थानीय प्रशासनले आइतबार नै घर खाली गराएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। उक्त घरमा थापासहित उनको तीन जनाको परिवार बस्दै आएको थियो ।
घर ढल्दा त्यसको मुनि रहेको प्राकृतिक खोल्सो थुनिन पुगेकाले थप जोखिम नहोस् भनेर प्रहरी टोली घटनास्थल पुगी खोल्सो खुलाउने र गेग्रान पन्छाउने कार्य गरिरहेको छ ।
उपत्यकामा केही दिनदेखि जारी अविरल वर्षाका कारण ढल, खोला किनार तथा भिरालो जमिन आसपासका बस्तीहरू जोखिममा परेका छन् ।
प्रहरी प्रशासनले भिरालो तथा पहिरोग्रस्त क्षेत्रमा बस्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।