सोमबार, १ भाद्र, २०८३

वैदेशिक रोजगार व्यवसायीले फिर्ता लिए आन्दोलन, ४५ दिनभित्र माग सम्बोधन गर्ने सहमति

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

वैदेशिक रोजगार व्यवसायीले फिर्ता लिए आन्दोलन, ४५ दिनभित्र माग सम्बोधन गर्ने सहमति

२०८३ भदौ  ०१, काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरूले अघि सारेका मागमा सरकार र व्यवसायीबीच सहमति जुटेपछि म्यानपावर व्यवसायीले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित भएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच भएको छलफलमा व्यवसायीका मागलाई ४५ दिनभित्र सम्बोधन गर्ने समझदारी बनेको हो ।

समझदारीपछि व्यवसायीहरूले भोलिदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने संघले जनाएको छ। माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले कार्यालय बन्द गर्नुका साथै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम रोक्ने घोषणा गरेका थिए ।

संघले सेवा शुल्कको व्यवस्था, वैदेशिक रोजगार विभागबाट भएका कारबाही पुनरावलोकन लगायत १५ वटा विषय सरकारसमक्ष राख्दै आन्दोलन तथा ध्यानाकर्षणका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । संघका अनुसार साउन २२ गतेदेखि सुरु भएको उक्त कार्यक्रम आजको सहमतिसँगै फिर्ता लिइएको छ ।

श्रम मन्त्रालयमा भएको छलफलमा श्रम मन्त्री र मन्त्रालयका सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारी सहभागी थिए । बैठकमा व्यवसायीले प्रस्तुत गरेका सबै १५ बुँदे मागका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार व्यवसायीका अधिकांश माग नीतिगत प्रकृतिका छन् । वैदेशिक रोजगार ऐन तथा नियमावली परिमार्जनका क्रममा रहेका विषयसँग समेत ती माग जोडिएकाले कानुनी संशोधनमार्फत सम्बोधन गर्न मन्त्रालय र संघबीच आवश्यक पहल गर्ने सहमति भएको छ ।

वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउने उद्देश्यले ऐन र नियमावली संशोधनको प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ । व्यवसायीका मागसँग सम्बन्धित विषयमा आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन वा विवरण पेश गर्न सकिने तथा विभागले आफ्नो तहबाट प्रशासनिक सहजीकरण गर्ने सहमति पनि भएको छ ।

विभागको तहबाट समस्या समाधान हुन नसके सम्बन्धित विषयमा मन्त्रालयमा पुनरावेदन गर्न सकिने विद्यमान कानुनी व्यवस्थालाई समेत प्रभावकारी रूपमा उपयोग गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

advertisement_1676551646.gif