राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८२ माघ १८, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा त्यहाँका विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफ गरिदिएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गदै सो विषयमा जानकारी दिएको हो ।
“यूएईको ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)को शुभ अवसरमा २६७ नेपाली कैदीहरूलाई उदारतापूर्वक दिइएको माफीको लागि नेपाल सरकार यूएई सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मैत्रीपूर्ण सम्बन्ध र मानवीय नाताले २६७ नेपालीको कैद सजाय माफ गर्ने यूएई सरकारको निर्णयलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्रले जनाएको छ । यसले नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले बारम्बार गरेको अनुरोधको सुनुवाइ गर्दै यूएईले नेपालीलाई माफी दिने निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ । “अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नभएको अवस्थामा, माफी पाएका नेपाली नागरिकहरू यूएईको प्रचलित कानुनद्वारा तोकिएबमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्,” विज्ञप्तिमा भनिएको छ ।