आईतवार, ६ बैशाख, २०८३

बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु, ८ देखि ११ बजेसम्म सञ्चालन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २८ चैत्र, २०८२

बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु, ८ देखि ११ बजेसम्म सञ्चालन

२०८२ चैत्र २८, काठमाडौं । साझा यातायात ले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ ।

सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा बुढानीलकण्ठबाट छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक र ४६ मिनेटमा लगनखेल पुगेको थियो भने थानकोटबाट छुटेको बस २१ मिनेटमा कलंकी र ४५ मिनेटमा विमानस्थल पुगेको पाइएको छ । सोही आधारमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने गरी समय तालिका मिलाइएको छ ।

दक्षिण रुटअन्तर्गत लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै बुढानीलकण्ठसम्म बस सञ्चालन हुनेछ । त्यस्तै, बुढानीलकण्ठबाट फर्किने बस महाराजगञ्ज, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली हुँदै लगनखेल पुग्नेछ ।

पूर्व-पश्चिम रुटमा थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, बानेश्वर हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म बस सञ्चालन हुनेछ । फर्किने बस विमानस्थलबाट तीनकुने, मीनभवन, बबरमहल, थापाथली हुँदै पुनः थानकोट पुग्नेछ। नयाँ सडक क्षेत्रलाई मुख्य ट्रान्जिट बिन्दु बनाइनेछ, जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन् ।

यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा ४ वटा सीसीटिभी क्यामेरा जडान गरिनेछ भने काठमाडौं महानगरपालिका ले प्रत्येक बसमा एक जना नगर प्रहरी खटाउने जनाएको छ ।

advertisement_1676551646.gif