शुक्रबार, १५ फाल्गुन, २०८२

एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ८ फाल्गुन, २०८२

एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ

२०८२ फागुन ०८, काठमाडौं । दाङको तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार झण्डा जलाएको आरोपमा शुक्रबार तुलसीपुर ७ कालाखोला निवासी ५५ बर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।

बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

बिहीबार राति अन्दाजी साढे ९ बजे दाङको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा अपरिचित व्यक्तिले एमालेको झण्डा जलाएको भिडिओ बाहिरिएको थियो ।

उक्त घटना अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पहिचानको आधारमा उनीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ । 

नेपाल प्रहरीले निर्वाचनको समय नजिकिँदै गर्दा शान्ति–सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र संयमित तथा जिम्मेवार व्यवहार प्रदर्शन गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई अनुरोध गरेको छ ।

advertisement_1676551646.gif