मंगलवार, २८ आश्विन, २०८२

लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी, आगलागी हुँदा दुईतले घर जलेर नष्ट

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १८ फाल्गुन, २०८१

लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी, आगलागी हुँदा दुईतले घर जलेर नष्ट

१८ फागुन, सोलुखुम्बु । जिल्लाको लिखुपिके गाउँपालिकाको कार्यालय भएको घरमा आगलागी भएको छ । गाउँपालिका–३ काफ्लेचौरस्थित कार्यालय भवनमा आज दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ। स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।

प्रहरी चौकी चौलाखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र स्थानीयबासीको सहयोगमा आगो निभाउन सफल भएको घिमिरेले बताए। आगलागी हुँदा ग्यास सिलिण्डरसमेत विस्फोट भएपछि आगो थप फैलिएको उनले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको बताए। यद्यपि, गाउँपालिकाको सरकारी दस्तावेज भने जलेर नष्ट भएको उनले बताए ।

दिउँसो करिब १ बजे लागेको आगो तीन घण्टापछि करिब ४ बजे नियन्त्रणमा आएको गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन।

advertisement_1680627706.gif